२५ फाल्गुन २०८१, आईतवार
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

‘क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक’

भैरहवा रुपन्देही, २५ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्रिकेटको विकासका लागि सात वटै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक भएको बताएका छन् ।

आजदेखि यहाँ सुरु प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले पूर्वाधार तथा सुविधाको अभावमा पनि नेपाली क्रिकेट क्षेत्रले उल्लेख्य सफलता हासिल गरेको बताए ।

“क्रिकेटको विकासमा सरकार प्रतिबद्ध छ, अभावकै बीचमा पनि नेपाली क्रिकेटले अन्तरराष्ट्रिय स्तरमा प्राप्त गरेको उपलब्धि उल्लेखनीय छ”, उनले भने ।

उनले क्रिकेटको विकासमा निजी क्षेत्रको पनि भूमिका रहने उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । “नेपाल प्रिमियर लिग एनपिएल जस्ता प्रतियोगिताले यस क्षेत्रमा आशा जागेको छ, थप लगानीको वातावरण निर्माण भएको छ”, उनले भने ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा भइरहेको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कूल ४६ वटा खेल खेलाइने छ ।

यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा खेलाइने जनाइएको छ ।

प्रतियोगितामा सात वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीसहित १० वटा टोलीहरुले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिताको पहिलो दिन सिद्धार्थ क्रिकेट रङ्शालामा लुम्बिनी र कोशी प्रदेश, एक्स्ट्राटेक ओभलमा विभागीय टोली सशस्त्र प्रहरी र बागमती प्रदेश तथा लमहीको देउखुरी रङ्गशालामा सुदूरपश्चिम र कर्णाली प्रदेशबीच खेल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्