सवारी दुर्घटनाको निहुँमा ४ जनाको हत्या
३१ भदौ, काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे–९ घर भई काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय भण्डारीले हत्यामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ ।
जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडाघारी क्षेत्रबाट पक्राउ गरेको थियो । घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर आइतबार साँझ अभियुक्त भण्डारीलाई सार्वजनिक गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भन्ने विशाल राई थिए । केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो । त्यस क्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए । त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयानमा बताएका छन् ।
भण्डारी काँडाघारीस्थित दिदी भिनाजुसँग बस्थे । आउजाउ गर्ने क्रममा विशाल सःमिलको घर टहरोमा राईलाई देखेका थिए । घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट आएका थिए ।
बेलुकीको समयमा सःमिलमा आइपुगेका उनी पछाडि पट्टीको बन्द गेटबाट चढेर राईको कोठामा पुगेका थिए । केहीबेरमा आएका राईले किन आएको भनेर कुटपिट गरेपछि आफूले खुकुरीले टाउकोमा प्रहार गरेको भणडरीले स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।
प्रतिक्रिया दिनुहोस्