लोकतन्त्रलाई समुन्नत बनाउनुपर्नेमा जोड

महोत्तरी, २७ फागुन । जनमत पार्टीका अध्यक्ष डा सिके चन्द्रकान्त राउतले अबको बाटो सामाजिक लोकतन्त्र हुने बताएका छन् ।
बर्दिबासमा पार्टीको केन्द्रीय समितिको दुईदिने बैठक सम्पन्नपछि आज बिहान रासससँग कुरा गर्दै डा राउतले समाजवादका लागि आधार तयार नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिलाई अझ समुन्नत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
समाजवादी राजनीतिक र आर्थिक अवस्थामा पुग्न प्रचुर उत्पादन बढाउनुपर्ने हुँदा त्यसको आधार तयार गर्न उत्पादनमुखी सामाजिक लोकतन्त्रको बाटो आफ्नो दलले लिएको उनको भनाइ छ ।
“हामी कहाँ पँुजीवादी क्रान्ति भएको छैन, अनि कसरी समाजवादमा पुग्ने ”, उनले प्रश्न गरे । त्यसैले अहिले आफ्नो दल उत्पादनमा जोड दिनेगरी ‘सामाजिक लोकतन्त्र’ सुदृढ गर्नुपर्ने निष्कर्षमा रहेको उनले स्पष्ट पारे ।
मुलुकको निकास प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने उनको भनाइ छ । त्यो राष्ट्रपति वा प्रधानमन्त्री जेमा सहमति हुन्छ, आफ्नो दललाई स्वीकार्य हुने डा राउतले बताए ।
सङ्घमा जस्तै प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र संवैधानिक निकायका प्रमुखहरु जनअनुमोदित हुनुपर्ने उनको तर्क छ । आफ्नो दलले यसलाई ‘नौलो गणतन्त्र’ का रुपमा परिभाषित गरेको उनको भनाइ छ ।
पछिल्ला दिनमा राजतन्त्र फर्कने हल्ला वाहियात भएको टिप्पणी उनले गरे। आइतबार र सोमबार बसेको केन्द्रीय समितिको बैठकले मुख्यतः जनआधारित पार्टी निर्माणमा जोड दिँदै सर्वकालिक कार्यकर्ता उत्पादनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।
यसैगरी, विचार र कार्यक्रम मिल्ने अन्य दलसँग पार्टी एकीकरणको प्रक्रिया अघि बढाउने र यसका लागि वार्ता गर्न पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको डा राउतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्