२८ फाल्गुन २०८१, बुधबार
गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

पोखरा अन्तराष्ट्रिय उडान चैत्र ५ गतेदेखि सुरु हुँदै

पोखरा । पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपाल स्थित चिनियाँ राजदुतावास र सिचुवान एअरलाईन्ससँगको सहकार्यमा पोखरा अन्तराष्ट्रिय उडान सुरु हुने भएको छ ।

बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष बिति सक्दा पनि नियमित अन्तराष्ट्रिय उडान हुन नसक्दा, राज्यका विभिन्न निकायहरु सहित प्रधानमन्त्री समेत लाई ध्यानाकर्षण गरिरहँदा पनि उडान सुचारु हुन नसकेको भन्दै निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले नै केही प्रयास गरौ भन्ने उद्देश्यका साथ उक्त उडान सुरु गर्न लागेको परिषद् जानकारी दिएको हो ।

यसमा विषेश गरी चीन स्थित चाईना ट्राभल इन्टरनेसनल छेन्दुले सुरुवाती उडानहरुमा सहकार्य गरिरहेको छ भने नेपालस्थित चाइनीज ओभरसिज एशोसियसनले पनि संयोजनकारी भुमिका निर्वाह गरेको छ ।

चैत्र ५ गते मंगलवार तदअनुसार हुने उक्त उडान विहान १०ः०० बजे १२७ चिनियाँ यात्रु लिएर पोखरा विमानस्थलमा अवतरण गर्ने छन् भने सोही दिन दिउसो १२ः०० बजे १२७ जना पर्यटन व्यवसायीहरु चाइनाको छेन्दु प्रस्थान गर्ने छन ।

उक्त पहिलो व्यवसायिक चार्टर उडानमा पोखरा महानगरपालिकाका प्रमुख– श्री धनराज आचार्यज्यू, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख श्री मणिराज लामिछानेज्यू, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक श्री गोपि वहादुर भट्टराईज्यू, पोखरा पर्यटन परिषद्का अध्यक्ष श्री तारानाथ पगारी लगायत पर्यटन संघ संस्थाका अध्यक्ष तथा कार्यसमिति र समग्र पर्यटन व्यवसायीहरुको उक्त उडानमा सहभागी हुने छन् ।

७ रात ८ दिन सम्मको उक्त कार्यक्रममा विषेश गरी सिचुवान प्रदेशको छेन्दु, लुझोउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटनका विकास, विस्तारका बारे जानकारी लिइनेछ भने नेपाल पर्यटन वोर्डको आयोजना तथा नेपाली महाबाणिज्यदूतावास छेन्दुको सहकार्यमा छेन्दु र छोङछिङमा क्रमशः १९ तथा २२ मार्चमा नेपाल इभनिङ टाइफ सेल्स मिसन कार्यक्रमको आयोजना गरिने छ ।

यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलाएमान हुने आशा राखिएको छ । अवको तीन महिना सम्मको अवधिमा करिव १,२५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाई मार्गबाट सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दुतावास, सिचुवान एअरलाईन्स र चाइना ट्राभल इन्टरनेश्नल छेन्दुले जानकारी गराएका छन ।

सुरुवाती चरणमा केही व्यावसायिक चार्टर उडानबाट सुरु गरेर यसलाई व्यवसायीक उडानमा परिणत गरी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कार्यको लागि पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरु निरन्तर प्रयासमा लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्