रौतहटमा होलीको रौनक, सभ्य रुपमा मनाउन सुझाव

रौतहट । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु अर्थात् होली पर्व रौतहटमा दुई दिन मनाइन्छ ।
यहाँको उत्तरी भेगमा फाल्गुन २९ गते बिहीबार र दक्षिण भेगमा चैत १ गते शुक्रबार मनाउने गरिन्छ । चन्द्रपुर नगरपालिका क्षेत्रसहितमा आज उल्लाहसपूर्वक यो पर्व मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलो गर्ने र सामुहिक रूपमा नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय कुमार काफ्लेले होली पर्वको मौलिक बिशेषता रहेकाले यसलाई सभ्य रुपमा मनाउनुपर्ने बताएका छन् ।
होली पर्वको अवसरमा कार्यलय परिसरमा आयोजित एक कार्यक्रममा उनले रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाव वृद्धिको पर्वको रुपमा लिने गरिएकाले सभ्य रुपमा मनाउनुपर्ने बताए ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि जयसवालले जातजाति र वर्ग भेदभाव नगरी सबै मिलेर होली पर्व मनाउने परम्परा सदियौँदेखि जीवित रहँदै आएको बताए ।
प्राकृतिक सौन्दर्य र रस रङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड भएकाले खुलेर मनाउनु पर्नेमा उनले जोड दिए ।
यसैगरि नेपाल पत्रकार महासंघ रौतहट शाखाले बुधवार होली मिलन कार्यक्रम गरि यहाँका विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, व्यापारी र संचाकरर्मीलगायतसंग शुभकामना आदन प्रदान गरि मनाएको छ ।
होली पर्वको किंवदन्ती र धार्मिक परम्परा
त्रेतायुगमा भगवान् राम र सीताले कञ्चन वनमा रङ्ग अबिर खेलेको मान्यता अनुरूप श्रद्धालुले फागुको थालनी भएको धार्मिक परम्परा रहेको छ । अर्को प्रसङ्गमा हिरण्यकशिपले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।
हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो चाड कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्डा आदिका कथा माध्यमले फागु, फगुवा, होली, होरी नाउँबाट पुकार्न थालिएको हो । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस्