फोहोरलाई जथाभावी विसर्जन गर्दा वनस्पति र बन्यजन्तुलाई असर

रौतहट । रौतहटको चन्द्रपुर नगर क्षेत्रबाट संकलित फोहोरलाई वन नजिकको क्षेत्र विसर्जन गर्दा वनस्पति तथा बन्यजन्तुलाई समेत असर परेको छ ।
चन्द्रपुर नगरपालिका अन्तर्गत रहेको बाग्मती र चादी नदिको किनारको वन क्षेत्रमा संकलित फोहोरलाई पालिकाले विसर्जन गर्दै आएको हो ।
नगर क्षेत्रबाट संकलित फोहोर बढी मात्रामा प्लाष्ट्किजन्य रहने गरेकाले यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर परेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
वन क्षेत्रमा घर, मासु पसल, सैलुन पसल, मेडिकलबाट निस्किने फोहोर जथाभावी फ्याँकिएका छन् । त्यसैगरी, रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, बोतल जथाभावी फालिएको स्थानीयको भनाई छ ।
घाँस–दाउरा गर्न र गाईबस्तु चराउन समेत नमिल्ने गरि फोहोर फालिएको स्थानीय सुकेन्द्र गोलेले बताए । उनका अनुसार कुहिने, नकुहिने फोहोर नछुट्टयाएरै जथाभाबी फाल्ने गरिएको छ ।
नगर क्षेत्रबाट संकलित फोहोर व्यवस्थापनको बिषयमा आफुहरुको ध्यानकर्षण भइसकेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बताए ।
फोहोरलाई बर्गिकरण गरेर पुन प्रयोगमा ल्याउने वा जैविक मल बनाउने बिषयमा कार्यपालिकाको बैठकमा समेत छलफल हुँदै आएको उनको भनाइ छ । फोहोरलाई मोहरमा परिणत गर्ने आफु प्रयासरत रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्