रासस

काठमाडौँ, ७ चैत । सांसद रामहरि खतिवडाले संविधान विपरीत गरिएका घटनामा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले गत फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यमा शाही निशाना प्रयोग गरी श्री ५ महाराजाधिराज भनी उल्लेख गरिएकामा उनले आपत्ति जनाउँदै कारबाहीको माग गरे ।
सांसद गोकुलप्रसाद बास्कोटाले काभे्रको बेथानचोक गाउँपालिका–३ र ५ स्थित महाभारत क्षेत्रमा तीन दिनदेखि आगलागी भइरहेकामा नियन्त्रणको माग गरे । माध्यमिक शिक्षा परीक्षा एसइई चलिरहेका बेला बिहान कोरीबाटी गरेर हिँडेका विद्यार्थी धुलाम्ये हुने र गाडी लड्ने समस्या भएकाले पानी हालेर समस्या समाधान गर्न माग उनले गरे ।
सांसद रमा कोइराला पौडेलले यस वर्षको एसइई आजदेखि सुरु भई पाँच लाख १४ हजार विद्यार्थी सहभागी भएको उल्लेख गर्दै शिक्षक महासङ्घका माग पूरा गर्न माग गरे । नयाँ शिक्षा विधेयक छिटो ल्याउन पनि उनले सरकारको ध्यानाकर्षण गराए । शिक्षकलाई आन्दोलनमा नभई कक्षामा पठाउनुपर्ने सांसद पौडेलको भनाइ थियो ।
सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीमाथि कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यपूर्ण बनाउनुपर्नेमा जोड दिए । अन्यथा कार्यसूचीबाट प्रश्नोत्तर कार्यक्रम हटाइनुपर्ने र नहटाए आफूले संसद् बैठक बहिष्कार गर्ने चेतावनी दिए । यसअघि प्रधानमन्त्रीले आफूले सोधेको प्रश्नको जवाफ नदिएको सांसद साहको आरोप थियो ।
सांसद ठाकुर गैह्रेले विद्युत् आपूर्तिका विषयमा ऊर्जामन्त्रीले भ्रमयुक्त विषय बोलिरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया