४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

शिक्षकलाई पार्टी सदस्य बनाउनुहुन्न, राजीनामा दिएर आउने बाटो खोलिदिनुपर्छ : गगन थापा

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षक र पार्टीको सम्बन्धबारे अब प्रष्ट हुनुपर्ने बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय समितिमा उनले राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचनसम्बन्धी ऐन र विद्यालय शिक्षा विधेयकले शिक्षकले पार्टीको सदस्य बन्न नपाउने व्यवस्था गरेको भन्दै अब पार्टीले पनि निर्णय गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा शिक्षकहरु सहभागी भएको विषयमा उच्च अदालत पाटनले पटक पटक चिठी लेखेको भन्दै महामन्त्री थापाले भने, ‘यसले हामीलाई ठीक ठाउँमा उभिन भनेको छ । हामी प्रष्ट हुनुपर्छ, खुला हुनुपर्छ । शिक्षकहरु पनि प्रष्ट हुनुपर्छ ।’

पार्टीको शुभेच्छुक संगठन नेपाल शिक्षक संघमा आवद्ध शिक्षकले नेतृत्व गरेका धेरै विद्यालय उत्कृष्ट रहेको तर उनीहरुले पनि पार्टीको झोले भन्ने आरोप खेप्नुपरेको थापाले बताए । त्यसैले अब शिक्षकले राजनीतिमा आउन चाहेमा शिक्षण पेशा छाड्नुपर्ने व्यवस्था गर्नुपर्ने थापाले बताए ।

‘अहिले कसैले पनि शिक्षक भएर पार्टीको सदस्य लिन्छु भन्न सम्भव छैन, पार्टी राजनीतिमा आउने हो भने शिक्षण पेशा छाड्नुपर्छ । त्यसका लागि हामीले विधानबाट ढोका खोलिदिनुपर्छ । शिक्षकले राजीनामा दिएर आएको दिन पार्टीमा स्थान पाउनुपर्छ’, उनले भने ।

कांग्रेसले शिक्षकलाई दलको कार्यकर्ता नभई शिक्षकको हैसियतमा समाजमा आर्जन गरेको पुँजीलाई अवकाशपछि उपयोग गर्नुपर्ने थापाले बताए ।

शिक्षकले जुन दिन राजनीतिमा आउने निर्णय गर्छन्, त्यस दिन पार्टीमा आउन मिल्ने गरी ढोका खोल्नुपर्ने र त्यसका लागि महासमितिबाट निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्