४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

कैद मिनाहा कानुन अनुसार नै दिइएको हो : कार्यबाहक प्रधानमन्त्री

८ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट भएको कैद मिनाहाको बचाउ गरेका छन् ।

कांग्रेसका उपसभापति समेत रहेका कार्यबाहक प्रधानमन्त्री खड्काले विवादमा परेका कैद मिनाहा पाएका व्यक्तिहरुको नाम नलिइकन संविधानसम्मत भएको दाबी गरे । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संविधान दिवसका दिन कैद सरकारले कैद छुट दिएका व्यक्तिको विषयमा प्रश्न उठाएपछि खड्काले जवाफ दिएका हुन् ।

संविधान दिवसको दिन तरुण दलका पूर्व नेता योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेसप्रति प्रश्न उठेको थियो । कार्यबाहक प्रधानमन्त्री खड्काले सरकारले संविधान, ऐन, नियमलाई टेकेर राष्ट्रपति समक्ष सिफारिस गरेको बताए । मुद्धा माफीका जति पनि निर्णय भएका छन्, संविधानले दिएको सुविधा भन्दा बाहिर केही पनि नभएको उनको दाबी छ ।

‘यति प्रतिशत जेल सजाय भोगिसकेपछि जेलमा त्यो कैदीले गरेको व्यवहार, उसको बानी व्यहोरामा आएको सुधारमा जेलरले गरेको सिफारिसका आधारमा जाने एउटा प्रक्रिया छ,’ खड्काले बैठकमा भने ।

उनले अगाडि भने, ‘आममाफीको बन्दोबस्तको कुरा एउटा छ । र, नियमित तरिकाले कानुन र संविधानले दिएको छुट अनुसार यति समय जेल सजाय भोग्यो भने चालचलन अनुसार छुट्ने व्यवस्थाहरु छन्’, सरकारको निर्णयको बचाउमा उनले भने, ‘अहिले ५÷६ सय ले जेल सजाय मिनाहा पाएका छन् । त्यो सबै ऐन र नियमले दिएको सुविधा अन्तर्गत भएका हुन् ।’

 

प्रतिक्रिया दिनुहोस्