‘जीवन्त सम्बन्ध’ को गहिराइलाई कसरी चिन्ने ?
९ असोज, काठमाडौँ । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अन्तिम क्षणमा मात्रै त्यसको अर्थको भेउ पाउँछन् तर त्यतिबेला उनीहरूको सम्बन्ध टुटिसकेको हुन्छ र ती आफूलाई रित्तिएको महसुस गर्छन् ।
हाम्रो समाजमा मानिसहरू अनेकौं कुराको पछि लाग्छन्, लोभलालच, ईर्ष्या, प्रतिस्पर्धाले उनीहरूभित्रको जीवनको रहस्यलाई विकृत बनाएको हुन्छ । मानिसले व्यापारिक सफलता, धनसम्पत्ति र मनोरञ्जनका खोजीमा भौंतारिँदा असल सम्बन्धहरूलाई लत्याइरहेको हुन्छ, चाहे त्यो सम्बन्ध बाबुआमा, श्रीमान्श्रीमती, छोराछोरी वा परिवारका अन्य सदस्य, आफन्तजन, छरछिमेक वा अन्य शुभचिन्तकसँग किन नहोस् ।
जीवन्त सम्बन्धलाई धेरैले चिन्न नसक्दा तिनको जीवन गहिरो शून्यतातर्फ धकेलिएको छ र ती रित्तोपनको भावनाले निराशा, एकलोपन, अभाव र मूल्यहीन जीवनका भड्खालोमा आफूलाई उत्रिन नसक्ने गरी फसेको पाउँछन् ।
जगत्मा धेरै थोरै मानिसले मात्रै जीवनको सही अर्थ बुझेका हुन्छन् । तिनले भौतिक उपार्जनलाई भन्दा जीवन्त सम्बन्धलाई मुख्य देख्छन् र जुनसुकै पेसा, व्यवसायमा संलग्न रहेर पनि जीवनको सागरमा आफूलाई तैराउन सक्छन् ।
अर्काको रोग, पीडा, अभाव र मृत्युलाई नजिकबाट देखेको एउटा चिकित्सक जो यो अवस्थाबाट आफैँ गुज्रिन पुग्छ, ऊ त्यतिबेला जीवनको सही अनुभूति गर्न सक्छ र त्यसलाई अक्षरका माध्यमबाट बाहिर ल्याउँछ भने त्यो समाजको विम्ब बन्छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले आफ्ना पिताको असामयिक निधनपछि आफ्ना मनमा छचल्किएको भावनालाई ‘जीवन्त सम्बन्ध’ शीर्षक पुस्तकमा उतारेका छन्र्नु । कुनै भौतिक उपलब्धिबाट मान्छेलाई सुख अनुभूति भए पनि त्यसको आयु लामो हुँदैन ।
जीविकोपार्जनका लागि भौतिक वस्तु, सुखसुविधा जरुरत परे पनि त्यही प्राप्तिलाई सम्पूर्ण जीवन ठानेर पिछा लाग्दा न त त्यसको कुनै पूर्णविराम नै हुन्छ, बरु दौडदा दौडँदै समयले हामीलाई धेरै पर धकेलिसकेको हुन्छ अर्थात् हामी जीवनको उत्तराद्र्धमा पुगिसकेका हुन्छौं । त्यति बेला बल्ल हाम्रो चेत खुल्छ, धनसम्पत्ति र सफलताले मात्र त सन्तुष्ट नदिने रहेछ ।
मानिस बेचैन भएर किन मर्छ, जति वृद्ध हुन्छ, त्यति बाँच्ने चाहना बढ्छ । यही कुरालाई उनले आफ्नो पुस्तकमा खोतेका छन्ल्नु । पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ । व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमाथि केन्द्रित हुँदै मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ ।
जीवनमा खुसीका दुई प्रमुख स्रोत भौतिक र भावनात्मक पक्षलाई अर्थ्याउँदै उनी भन्छन्, ‘भौतिक खुसी वा सुखको सीमाको कम आयु हुन्छ । भावनात्मक सुख असीमित र चिरकाल हुन्छ । सांसारिक मानिस भौतिक सुखको प्रलोभनमा पर्छन् किनकि यो सुख आवरणीय हुन्छ तर ज्ञानीहरू भौतिक सुखबाट चाँडै तृप्त भएर भावनात्मक सुखका मार्गमा अग्रसर हुने गर्छन् । उनीहरूले जीवनलाई गहिराइमा बुझेका हुन्छन् तथा आफूलाई चिनेका हुन्छन् । अन्तर्मनको खुसी उनीहरूको प्राथमिकतामा पर्छ ।’
पुस्तकमा सकारात्मक सोचका साथै सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई सँगै कसरी अघि बढाउने भन्ने विषयमा पनि थुप्रै प्रसङ्ग उल्लेख गरिएको छ । दुनियाँमा धेरै जना आफूसँग भएका कुरालाई बुझ्न नसक्दा र मनन गर्न नसक्दा बढी दुःखी हुने गरेका छन् । त्यसैले जीवन र सम्बन्धलाई समयमै बुझ्न आवश्यक रहेको उहाँको ठम्याइ छ ।
वास्तवमा सम्बन्धले व्यक्तिगत जीवनलाई चराचर जगत्सँग जोड्ने अवसर प्रदान गर्छ । यसबाट मानिसले भावनात्मक सुखको प्राप्ति सँगसँगै आफ्नो जीवनलाई उद्देश्यपूर्ण बनाउन सक्छ । सम्बन्धले व्यक्तिलाई सन्तुष्ट हुन पनि सिकाउँछ । यसले मानिसमा त्याग, समर्पण, प्रेम, कर्तव्य आदि गुणको विकास गराउँछ । त्यसैले सम्बन्ध बुझ्नु भनेको जीवन बुझ्नु हो, बोधयुक्त जीवन बाँच्नु हो तथा जीवनको सार्थक गन्तव्य पहिचान गर्नु हो । जीवनमा भौतिक सुखमा मात्र रमाउने होइन, सम्बन्धलाई परिचालन गर्न सक्नुपर्ने उहाँको सुझाव छ ।
वरिष्ठ चिकित्सक डा अनिलको १० वर्षअघि पेसागत जीवनको सुरुआतकालमा लेखिएको ‘म पनि डाक्टर’ भन्ने पुस्तक पाठकहरूका माझ लोकप्रिय बनेको थियो । सो पुस्तक स्वस्थ रहन र रोगबारे सरल रूपमा जानकारी लिन निकै उपयोगी छ ।
प्रस्तुत दोस्रो पुस्तकले व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमा तत्वबोध गराएको छ । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, सङ्घर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायत विषयमाथि संस्मरणात्मक शैलीमा यो पुस्तक लेखिएको छ ।
तीन वर्षअघि बुबाको मृत्युपछि जीवन र सम्बन्धलाई हेर्ने र सोच्ने तरिका नै परिवर्तन भई सोही कुराले उहाँलाई पुस्तक लेख्न प्रेरित गरेको हो । कृतिमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने विषयवस्तु समेटिएका छन् ।
बुबाको मृत्युपछि जीवनमा पारिवारिक सम्बन्धको अर्थ कति हुने रहेछ भन्ने आफूले बुझ्ने मौका पाएको र त्यसैलाई पुस्तकमा उतार्ने प्रयास गरेको उनको भनाइ छ । आफूले धेरै बिरामीको ज्यान जोगाए पनि आफ्नै पितालाई बचाउन नसकेकामा भावुक हुँदै जीवन के हो भन्ने वास्तविकतालाई बुझेपछि नै लेख्न उत्प्रेरणा जागेको उनी बताउँछन् । आफूले सामाजिक सञ्जालमा राखेका सवालमा सर्वसाधारणले राखेका विचारले पनि पुस्तक लेख्न सजिलो भएको उनको भनाइ छ ।
मुटुरोग विशेषज्ञका रूपमा धेरै बिरामीको मुटु छामेका उनले मुटुमात्र नभएर मानिसको मन, मस्तिष्क तथा आर्थिक र सामाजिक परिवेश पनि बुझ्ने मौका पाएका छन् । आफूलाई चिकित्सक भएर मात्रै नभएर समाजको एक सर्वसाधारण व्यक्तिका रूपमा उभ्याएर हेर्दा देखेको दुनियाँको मनस्थितिलाई पनि उनले पुस्तकमा उतारेका छन् ।
पछिल्लो समय मानिसले काम र पैसाका लागि परिवारलाई समय दिन सकिरहेको छैन । परिवारमा बाबुआमा, छोराछोरी, नातिनातिनाबीचका सम्बन्धमा दरार आएको छ । सबैका कुण्ठा छन्, अभाव महसुस गर्छन् ।
मानिसमा सम्पूर्ण कुरा छ र पनि ऊ खुसी हुन सकिरहेको छैन । जीवनमा के पेसा मात्रै सम्बन्ध हो, करिअर मात्रै सबथोक हो भन्ने प्रश्नमा रुमल्लिँदै त्यसभन्दा पनि पर जीवन छ भन्ने देखाउन नै आफूले पुस्तक लेखेको उनी बताउँछन् ।
आज बाबुआमा, सन्तान, आफन्त, इष्टमित्र, समाजबीच दूरी बढ्दो छ । यसले मानिसको जीवनलाई नराम्ररी प्रभावित पारेको छ । यो पुस्तक पढेपछि जो कोहीले पनि आफ्ने जीवनको घटनाका माध्यमबाट आफैँलाई पात्र देख्न सक्छ । आफैंले अनुभूत गर्छ कि लेखकको सोच गलत छ कि सही ।
पाठकका मनमा अनेक प्रश्न उब्जन्छ र आफैँले त्यसको उत्तर पुस्तकमा भेट्टाउँछ । मानिस अर्बौंको सम्पत्ति, नाम, इज्जत हुँदा पनि यसले आफूलाई एक्लो, सहाराविहीन पाउँछ, सन्तानलाई कसरी हुर्काएछौँ भन्ने बोध हुन्छ ।
आफ्ना सन्तानलाई विदेश पठाउन खोज्ने अभिभावक अहिले दुःखी छन् भने विदेश जानेहरू पनि सुखी छैनन् । परिवारबाट टाढा रहँदा जस्तोसुकै भौतिक सम्पन्नता भए पनि नजिकको आत्मीयता पाउन सकिंदैन । धन–दौलत, घर–गाडी, ऐश–आराम, मोज–मस्तीले पनि मानिसलाई आनन्द दिंदैन ।
यी कुरा प्राप्ति हुने क्षणसम्म आइपुग्दा मानिसले आफ्नो समय, स्वास्थ्य, सम्बन्ध, सुख धेरै कुरा गुमाइसकेको हुन्छ । आर्जन गरेको कुराभन्दा गुमाएको कुराको हिस्सा ठूलो हुन्छ, जसको कुनै लेखाजोखा नै गर्न सकिंदैन । मानिस तब मात्र सुखी रहन्छ, जब उसको पारिवारिक जीवन पूर्ण हुन्छ ।
परिवार, इष्टमित्रसँगको प्रेममय सम्बन्धले कहिल्यै एक्लो महसुस हुन पाउँदैन । आफ्ना आमाबुबा, छोराछोरी, श्रीमान्–श्रीमती, भाइबन्धुसँग नजिक हुनु र एकापसमा मित्रवत् सम्बन्धका साथ बाँच्नुले नै जीवनमा मिठास ल्याउँछ र त्यसले जीवनलाई आनन्दमा पुर्याउँछ । त्यसभन्दा ठूलो जीवन्त सम्बन्ध केही हुँदैन भन्ने नै पुस्तकले सन्देश दिएको छ ।
डा अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फ्यान र फलोअर्स भएका उहाँलाई सेलिब्रेटी डाक्टरका रुपमा पनि चिन्ने गरिन्छ । उनले बुवाको मृत्युपछि उहाँ जस्तै ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार गर्न सकियोस् भनेर डा ओम फाउन्डेसन स्थापना गरेका छन् र पुस्तक बिक्रीबाट आउने रकम दुःखी र असहाय ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्ने उनको योजना छ ।
पुस्तकको मूल्य एक हजार तोकिएको छ तर आवरणपृष्ठविना पनि रु ६०० मा किन्न सकिन्छ । त्रिपन्न खण्ड र २४० पृष्ठको पुस्तक अनलाइनमा दराज, इसेवा, हाम्रो पात्रो, डा ओम फाउन्डेसनको वेबसाइट र उहाँको फेसबुक पेजमार्फत पनि अर्डर गर्न सकिन्छ ।
समीक्षा पब्लिकेसनले वितरण गर्ने पुस्तक काठमाडौँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ । विभिन्न सुपर स्टोर एवं कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुने फाउन्डेसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्