रासस
6 दिन अघि

टक्सार भोजपुर, १३ चैत । ग्रामीण क्षेत्रमा पशु स्वास्थ्य कार्यकर्ताको अभाव देखिने गरेको छ । पशु चौपायामा सामान्य समस्या देखिँदा समयमै उपचार गर्न सकिँदैन ।
यही समस्या समाधानका लागि रामप्रसाद राई गाउँपालिका–५ मा सञ्चालनमा रहेको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयले निःशुल्क ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालन गरेको छ ।
भोजपुर उद्योग वाणिज्य सङ्घको माग प्रस्तावमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरको समन्वयमा शिक्षालयले तीन सय ९० घण्टा ६५ दिन अवधिको ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालन गरेको हो ।
सशस्त्र प्रहरी छ जना र दुई जना महिलासहित तालिममा २० जनाको सहभागिता थियो ।
गाउँघरमा अझै पनि ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता पाउन समस्या हुने भएकाले पशुपन्छीमा देखिएका स्वास्थ्य समस्या र रोग निदान गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको शिक्षालयका प्रमुख नवीन चापागाईंले बताए । उनले भने, “पशु स्वास्थ्य सेवाबारे तालिम लिँदा रोजगारीको बाटो पनि खुल्छ, गाउँघरमा पशुपालक कृषकलाई सहत हुन्छ ।”
तालिम सहजकर्ता अनिल बस्नेतले व्यावसायिक पशुपालनको क्रम बढ्दै गर्दा पशु स्वास्थ्य उपचारको तालिम लिएकालाई जीवन निर्वाहका साथै आयआर्जनमा समेत राहत मिलेको बताए । व्यवसायिक पशुपालन हुने क्षेत्रमा स्वास्थ्य कार्यकर्ताकारुपमा काम गरे आम्दानी समेत लिन सकिने उनले बताए ।
सशस्त्र प्रहरी बल गुल्म नम्बर ५ टक्सारका प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र थापाले सेवा निवृत्त जीवनमा सहयोग पुग्ने उद्देश्यले ‘एक सिपाही एक सीप’ को अवधारणा अघि सार्दै शिक्षालयमा सञ्चालन हुने तालिममा प्रहरीलाई पनि सामेल गर्न थालिएको बताए । उनका अनुसार प्रहरीले इलेक्ट्रिसियन, कम्प्युटरलगायतका तालिम समेत लिइसकेका छन् ।
तालिम लिएकाहरुले व्यवसाय गर्दा हैरानी ब्यहोर्नु नपर्ने उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष कर्णबहादुर मोक्तानले बताए । उनले वाणिज्य सङ्घले तालिमका लागि माग प्रस्ताव नै गरेको बताए ।
पशुपन्छीमा देखिने स्वास्थ्य समस्याबारे आधारभूत ज्ञान दिने भएकाले रोगकै कारण व्यवसायमा पर्ने जोखिम घटाउन यो तालिम प्रभावकारी देखिएको तालिमका सहभागी कौशल श्रेष्ठले बताए ।
तालिमका सहभागीलाई प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, शिक्षालय प्रमुख चापागाई, उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोक्तान, प्रहरी नायब उपरीक्षक थापालगायतले प्रमाणपत्र वितरण गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया