८ कार्तिक २०८१, बिहीबार
मुख्‍य समाचार

रिगल कैद मिनाहविरुद्ध अनसन बस्छु : भारती

१६ असोज, काठमाडौं । भारती मानन्धर आफ्नो श्रीमान चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध रिले अनशन बस्न भएकी छन् ।

रिगलविरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाह गरेपछि रिगल छुटेका थिए ।

चेतनकी श्रीमती भारतीले राष्ट्रपतिको निर्णय विरुद्ध भोलि बुधबारदेखि माइतीघरमा रिले अनशन सुरु गर्ने बताइन् । गहभरी आँसु लिएर मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेकी उनले उनले भनिन्, ‘जुन म पहिला पीडामा थिएँ, राष्ट्रपतिले फेरि दोहोर्‍याइदिनुभयो । पहिलाको दृश्य आँखामा झलझली भइरहेको छ ।’

लामो कानुनी लडाईँ लडेर रिगललाई कारगार पुर्‍याएको भन्दै उनले पीडित परिवारको सहमतिविना आममाफी दिने अधिकार राष्ट्रपतिलाई दिन नहुने बताइन् । ‘यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलिबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?’ उनले प्रश्न गरिन्, ‘यस्तो दिन देखाउनुहुन्थ्यो ?’

प्रतिक्रिया दिनुहोस्