News and Updates

रामेछाप । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले गहन अध्ययन र विश्लेषण नहुँदा समाज अराजक बन्दै गएको बताएका छन् ।
रामेछापमा आइतबार आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालको योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै डा.केसीले अहिलेको समाज सामाजिक सञ्जालको पछाडि दौडिएको बताए । त्यसकै प्रभाव स्वरूप विदेश जाने एक खालको भूत युवा जमातमा चढेको उनको विश्लेषण छ ।
केसीले नेपालमा राम्रो रोजगारी भएका मानिसमा समेत विदेश जाने अचम्मको लालसा बढेको बताए । युवा पुस्तामा चाहना र आवश्यकता अति महत्त्वाकाङ्क्षी भएको कारण विदेशको मोह बढेको उनको ठम्याइ छ ।
केसीले नेपाली सम्मानमा विद्वानको र विद्वताको कदर हुन छाडेको गुनासो गरे । ‘विद्वान र विद्वताको करद नै छैन, एउटा पिएचडी गरेको डाक्टरलाई एउटा फुच्चेले के छ खबर भने जिस्क्याउँछ, खिसी गर्छ, अनि कहाँबाट देश बन्छ’, उनले भने ।
केसीले अब पुष्पलाल र उनको बिचारलाई समेत नयाँ कोणबाट परिभाषित गर्नुपर्ने बताए । पुष्पलालका कतिपय दस्ताबेजलाई तोडमोड गरिएका बताउँदै उनले त्यसको बारेमा वृहत् खोज, अध्ययन र सार्वजनिकीकरण गर्नुपर्नेमा जोड दिए ।
विज्ञान र प्रविधिले धेरै कुरा ल्याएको बताउँदै उनले त्यसको प्रभाव समाजमा परेको बताए । नयाँ प्रविधिको विकास भएसँगै समाज र त्यसलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन भएकोले अब परिवर्तित सन्दर्भ अनुसार समाज विश्लेषण गर्नुपर्ने उनको धारणा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया