३ कार्तिक २०८१, शनिबार
राजनीति

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओको फोटो एकसाथ देख्दा ग्लानी भयो : रघुजी पन्त

१८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदीय हैसियत विपरित एमसीसी कार्यान्वयन भएको हर्षेल्लास कार्यक्रमको उद्घाटनमा सरिक भएको भनी प्रश्न उठाएका छन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कार्पोरेसन (एमसीसी)का एमसीसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल ब्राइटले हर्षेल्लास कार्यक्रममा उपस्थित भएका थिए । उक्त कार्यक्रमको फोटोलाई देखाउँदै एमाले सांसद पन्तले प्रश्न उठाएका हुन् ।

‘ज्वाइन्ट गर्दा इक्युभ्यालेन्ट हेरिन्छ । प्रधानमन्त्री पदसँग सुहाउने मान्छे भए त ठीकै छ । तर एमसीसीको एक्जुकेटिभ अफिस डाइरेक्टर र प्रधानमन्त्री बराबर हो ? सभामुख महोदय हेप्न छोड्दैनन्’ पन्तले बुधबार प्रतिनिधि सभाको बैठकमा भने ।

उक्त कार्यक्रमको फोटो देख्दा आफूलाई ग्लानी भएको उनको भनाइ छ । ‘एउटा स्वाभिमानी नेपाली नागरकको हैसियतले, स्वाभिमानी नागरिकलाई प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाको हैसियतले त्यो फोटो हेर्दा मलाई ग्लानी भयो’ उनले भने, ‘कृपया प्रधानमन्त्री ज्यू र परराष्ट्र मन्त्रालयले भविष्यमा यस्ता विषयहरुमा ध्यान दियोस् ।’ उनी अगाडि भन्छन्, ‘आफ्नो इज्जत आफैँले राख्ने हो । देशको इज्जत आफैँले राख्ने हो ।’

हैसियत नमिल्ने ठाउँमा अडान लिन सके समस्या नआउने र ग्लानी हुने कार्यमा सरिक हुन नपर्ने उनको भनाइ छ । अन्यथा, हेपिनुपर्ने उनलाई लाग्छ ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र कांग्रेस नेता गणेशमान सिंहबाट सिक्न प्रधानमन्त्री प्रचण्डलाई एमाले सांसद पन्तको सुझाव छ ।

उनका अनुसार माधव नेपाल प्रधानमन्त्री हुँदा मनमोहन प्रतिष्ठानले चलाउने मनमोहन टेक्निकल इन्सिच्युटमा दक्षिणको छिमेकीले केही भवनहरु बनाइदिएको थियो । त्यसबेला भारतीय दुतावासबाट तत्कालीन भारतीय राजदुत राकेश सुद र प्रधानमन्त्री माधव नेपालले संयुक्त रुपमा भवनहरु उद्घाटन गर्ने प्रस्ताव आएको थियो

‘म त्यसबेला म प्रधानमन्त्रीको प्रमुख सल्लाहार थिएँ । मैले भने प्रधानमन्त्री जानुहुन्छ भने प्रधानमन्त्री एक्लैले उद्घाटना गर्नुहुन्छ । राजदुतले गर्ने भए एक्लै गर्नुहुन्छ, नत्र मिल्दैन भनेँ’ सांसद पन्तले सुनाए, ‘एउटा सहसचिवसँग उभिएर गर्नु हुँदैन भनेर स्ट्यान्ड लियौं, पछि प्रधानमन्त्रीले एक्लै उद्घाटन गर्नुभयो ।’

कांग्रेसको नेता गणेशमान सिंहले २०४६ सालको आन्दोलनपछि भारतीय नेताहरुले भोट्न खोज्दा होटलमा आउँदिन भनेको पनि उनले स्मरण गरे ।

‘भारतका मन्त्रीले भोट्न खोज्दा उहाँले होटलमा जान्न भन्नुभयो । भेट्न पर्छ भने यहीँ आए हुन्छ भनिदिनुभयो’ पन्त अगाडि भन्छन्, ‘भारतको सिटिङ प्रधनमन्त्री आइके गुजराल चाक्सीबारीमा गएर गणेशमान सिंहलाई भेट्न गए । कांग्रेसले यो सिके हुन्छ । हाम्रा प्रधानमन्त्री (प्रचण्ड)ले यो सिके हुन्छ ।’

विदेशीले अनेक रुपमा हेप्न सक्ने हुँदा सर्तक हुनुपर्ने उनको राय छ । भारतीय स्वतन्त्रताको लडाइंको समयमा इन्दिरा गान्धीसँग बेलायतले वार्ता गर्न चाहेको तर वार्तामा सहभागी हुँदा ड्रेस कोड ख्याल गर्नुपर्ने बताएको उनले सुनाए ।

‘ब्रिटिसहरुको ड्रेस कोड हुन्छ, डिनर हुँदा कुन चम्चाले सुप खाने । दायाँ हातले के खाने । आदि सिकाइन्छ । गान्धीलाई पनि त्यही भनियो । गान्धीले ड्रेस कोड पालना गरेर आउँदिन भने र गान्धीले लगौंटी र धोती लगाएर लण्डन गएर वार्ता गरे । त्यसबेला ड्रेस कोड तोडियो’ अडान लिँदा हेपिनु पर्ने उदाहरण दिँदै सांसद पन्तले भने ।

प्रतिक्रिया दिनुहोस्