Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘माया के हो’ गीत श्रव्यदृश्य सार्वजनिक

News and Updates
2 हप्ता अघि

काठमाडौँ, २६ चैत । गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिएको प्रेमभाव झल्काउने ‘माया के हो’ बोलको गीत श्रव्यदृश्य सार्वजनिक भएको छ ।

सो गीति श्रव्यदृश्य सार्वजनिक गर्ने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गीतकार अर्जुन पोखरेलले धेरै समयपछि ‘रोमान्टिक शैली’ को गीत सार्वजनिक गरिएको बताए।

उनले भने, “अहिले सामाजिक विषयका चलचित्र बढी निर्माण भएकाले प्रेम भाव व्यक्त गर्ने रोमान्टिक शैलीको गीत कम भएको आभाष भएको छ । यो गीत झैँ श्रव्यदृश्यले पनि भाव व्यक्त गरेको छ । श्रव्यदृश्य निर्माण समूहले निकै मेहनत गरेको छ ।”

प्रेमराज अधिकारीले लेखेको गीतमा आधारित भई मकवानपुरको कुलेखानी तथा आसपासका क्षेत्रलाई समेटेर श्रव्यदृश्य छायाङ्कन गरिएको निर्देशक निकेश खड्काले जानकारी दिए । दर्शकलाई नयाँ अनुभूति दिन अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री उगेन छोदेनलाई श्रव्यदृश्यमा प्रस्तुत गरिएको उनले बताए।

“गीतको मिठासलाई दृश्यमा व्यक्त गर्न सक्दो कोसिस गरेका छौँ । दुईजना प्रेमिल जोडीको प्रेम र एकअर्काप्रतिको सम्मानलाई श्रव्यदृश्यमा देखाइएको छ । गीत नै गुनगुनाइरहने शैलीको निर्माण भएको छ”, निर्देशक खड्काले भने ।

अभिनेता श्रेष्ठले गीत मन परेर आफू श्रव्यदृश्यमा काम गर्न इच्छुक भएको बताए । “म अहिले चलचित्रकै तयारीमा थिएँ, त्यही भएर पछिल्ला दिनमा निकै कम श्रव्यदृश्यमा काम गरेको छु । यो गीत मन परेर मैले काम गरेको हुँ, यो आँखालाई शीतलता दिने र कर्णप्रिय गीत बनेको छ”, उनले स्पष्ट गरे ।

यसैगरी, नेपाली चलचित्र ‘दुई नम्बरी’ मा काम गर्नुभएकी भूटानी अभिनेत्री उगेन छोदेनले नेपालमा काम गर्दा खुसी प्राप्त हुने अनुभव सुनाए । उनले चलचित्रपछि पहिलोपटक श्रव्यदृश्यमा काम गरेका हुन् ।

“म नेपालमा काम गर्न पाउँदा खुसी हुन्छु, यो समूहले निकै सहज र सरल रुपमा काम गर्ने वातावरण दियो । मैले नेपालबाट पाएको मायालाई शब्दमा व्यक्त गर्न सक्दिनँ, त्यही भएर म चलचित्रपछि पुनः काम गर्न आएकी हुँ । मेरो अन्य भूमिका पनि आउँदो वर्ष दर्शकले हेर्न पाउनेछन्”, उनले भने ।

ङागस्तो दोर्जी योञ्जनले निर्माण गर्नुभएको श्रव्यदृश्यलाई हरि हुमागाईंले छायाङ्कन, सुवास तिमल्सेनाले शृङ्गार, कुसुम बुटिकले वेशभूषा र विकास धमलाले सम्पादन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया