Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

स्वर्णविन्दुप्राशन लिने बढ्दै

News and Updates
1 हप्ता अघि

तुलसीपुर दाङ, २९ चैत । तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्णविन्दुप्राशन लिनेको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७९/८० देखि उक्त सेवा सुरु भएको हो ।

सोही आवमा पाँच हजार ५५ जनाले मात्र सेवा लिएकामा गत आव मा १२ हजार ६६६ ले सेवा लिएका छन् ।

चालु आवको चैत चौथो सातासम्ममा १६ हजार ८७७ जनाले यो सेवा लिएका छन् । पछिल्लो समय यो सेवा लिनेको सङ्ख्या बढिरहेका चिकित्सालयका सूचना अधिकारी वसन्तबहादुर केसीले बताए। “सुरुमा यो सेवा लिनेको सङ्ख्या न्यून थियो”, उनले भने, “अहिले भने अत्यधिक घुइँचो हुन थालेको छ ।”

बालबालिकाको मानसिक क्षमता बढाउने आयुर्वेद चिकित्सा पद्धति स्वर्णप्राशन हो । स्वर्णप्राशन मह, अश्वगन्धा, शङ्खपुष्पी, वाचालाई सुनको भष्मसँग मिसाएर तयार पारिने सूचना अधिकारी केसीले बताए। जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णप्राशन गराउने गरिन्छ ।

उनले स्वर्णप्राशनका लागि जिल्लाको तुलसीपुर उपमहानगरपालिकाबाहेक घोराही, शान्तिनगर, बबई, लमही, दङ्गीशरण गाउँपालिका र छिमेकी जिल्ला रोल्पा, प्यूठान, सल्यानबाट समेत आउने गरेका जानकारी दिए । उनका अनुसार यहाँ निःशुल्क रूपमा यो स्वर्णप्राशन गराउने गरिन्छ ।

“अहिले विभिन्न जिल्लाबाट स्वर्णप्राशनका लागि आउने गर्नुहुन्छ”, उनले भने, “हामीले निःशुल्क रूपमा यो सेवा दिँदै आएका छौँ ।” प्रत्येक महिनाको पुष्पनक्षत्रको दिन स्वर्णप्राशन गराउने गरिन्छ । यसले पनि पछिल्लो समय आयुर्वेदप्रति नागरिकको चासो बढ्दै गएको पुष्टि हुने अस्पतालका निमित्त निर्देशक डा प्रवेश श्रीवास्तवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया