Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएका छन् : अध्यक्ष सुवेदी

News and Updates
3 दिन अघि

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अहिले अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित शिक्षा बहस कार्यक्रममा बोल्दै उनले अहिले अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएको भन्दै त्यसले शिक्षकको उत्साह अभिप्रेरणा पनि नजगाउँने र विद्यालय शिक्षा पनि उभो नलाग्ने बताएका हुन् ।

उनले भने, ‘अहिले अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएको छ । त्यसले शिक्षकको उत्साह अभिप्रेरणा पनि जगाउँदैन र विद्यालय शिक्षालाई पनि उभो लादैन् । त्यसैले त्यो कुरामा पनि सर्तक हुनुपर्छ । शिक्षकले सबै कुरा नियन्त्रणमा लिएर सम्पूर्ण दायित्व निर्वाह गर्न सक्दैन् ।’

त्यस्तै, उनले सामाजिक सञ्जालमा आन्दोलनमा सहभागि नहुने शिक्षकलाई महासंघले कारबाही गर्ने भन्ने हल्ला गलत रहेको स्पष्ट पारे । पेसाकर्मीले दुनियाँमा कहिकतैपनि आन्दोलन गर्दा तलब नछोड्ने चलन रहेको भन्दै आफूहरुले पनि तलब नछाड्ने बताए ।

उनले भने, ‘सामाजिक सञ्जालमा आन्दोलनमा सहभागि नहुने शिक्षकलाई महासंघले कारबाही गर्ने भनेर आएको छ । त्यो हामीले कतै लेखेको छैन् । हाम्रो तर्फबाट नलेखिएको तर व्यक्ति कसैले लेख्नुभएको छ भने हामी जिम्मेवार छैनौं । हामीले तलब खाने हो । पेसाकर्मीले दुनियाँमा कहिकतैपनि आन्दोलन गर्दा तलब छोड्दैनन् । हामी तलब छोड्दैनौं । हामी त काम नै गरिराखेका छौं । शिक्षा क्षेत्रको निर्माणको लागि आन्दोलनको काम गरिराखेको छैनौं ?’

त्यस्तै, उनले समाजमा शिक्षकहरुको माग मुद्दाको बारेमा कोही कसैले पनि नबोलिने कारण आफूहरुनै बोल्न बाध्य भएको बताए । गुणस्तर शिक्षाको लागि शिक्षणयोग्य वातावरण चाहिने भन्दै यो वातावरण निर्माणको लडाईमा आफूहरु रहेको उनको भनाई छ ।

उनले भने, ‘हाम्रो माग मुद्दामा सेवा सुविधाको कुरा धेरै छन् । त्यसको बाध्यता के छ भने समाजमा हामी बाहेक हाम्रो माग मुद्दाको बारेमा कोही बोलिदिँदैन् । त्यसो भएपछि हामीले नै हाम्रो माग मुद्दा बिर्सियौं भने समाजमा कसले उठाइदिने ? गुणस्तर शिक्षाको लागि शिक्षणयोग्य वातावरण चाहिन्छ । यदी शिक्षकबाट त्यो अपेक्षा गर्छौ भने त्यो वातावरण निर्माण गर्दिन सक्नुपर्छ । त्यो लडाईमा नै हामी छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया