Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मकवानपुरमा महिला फुटबल प्रतियोगिता हुँदै, विजेताले ५ लाख पाउने

News and Updates
7 घण्टा अघि

 

हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सातौं सहिद स्मृति स्थानीय तह महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

विगतका वर्षहरुमा पुरुष फुटबल आयोजना गर्दै आएको संघले सातौं संस्करण भने राष्ट्रिय महिला गोल्डकपका रुपमा लैजान लागेको हो ।

महिला फुटबलको विकास, प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । वैशाख १९ गतेदेखि गौरीटार रंगशालामा सुरु हुने प्रतियोगितामा तीन विभागिय टिम सहित ५ वटा जिल्लाका क्लवले सहभागिता जनाउनेछन् ।

नेपाल आर्मी, नेपाल पुलीस, एपिएफ सहित मकवानपुर, चितवन, सर्लाही, रौटहट र बारा जिल्लाका गरि ८ वटा क्लवले सहभागिता जनाउने फुटबल संघ मकवानपुरका सचिव छवीलाल सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको प्रायोजकका रुपमा मकवानपुरका १० वटा स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद् लगायत स्थानीय संघ संस्था रहेका छन् ।

यसैबिच संघले छैटौं संस्करणको गोल्डकप प्रतियोगिताको आय–व्यय विवरण पनि सार्वजनिक गरेको छ ।

आम्दानी र खर्चको विवरण अनुसार, गत वर्षको फुटबल प्रतियोगिता आर्थिक रुपमा घाटामा गएको देखाइएको छ । प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ । प्रतियोगिताबाट २ लाख २४ हजार रुपैयाँ घाटा भएको आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया