Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रहस्यमय घट्नाको सफल अनुसन्धान गरेका प्रहरी निरीक्षक कुँवर सर्वोत्कृष्ट

News and Updates
12 घण्टा अघि

इटहरी । गत चैत २५ गते सुनसरीको धरानस्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा एक अपरिचित महिलाको शव फेला पर्यो । अनकन्टार जंगलभित्र झोलाको फित्ता घाँटीमा बाँधी रुखको फेदको हाँगामा बाँधिएको शङ्कास्पद अवस्थामा भेटिएको शवको अनुसन्धान गर्न प्रहरिलाई उत्तिकै चुनौति थियो ।

तर, प्रहरीले आफ्नो संयन्त्रलाई परिचालन गरेर चैत २८ गते मृतकको पहिचान गर्न पुग्यो । शव पहिचानकै क्रममा धनकुटाको महालक्ष्मी नगरपालिका–२ घरभइ इटहरी–२ बस्दै आएकी चुनकुमारी दाहाल बुढाथोकीको शव रहेको पुष्टि भयो । शवको पुष्टि भएपछि प्रहरीलाई चुनुकुमारीको वारेमा अनुसन्धान गर्न सहज भयो ।

अनुसन्धानका क्रममा प्रहरी के निस्कर्षमा पुग्यो भने, ‘श्रीमान्–श्रीमती बिच मनमुटाब, श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा कोरियामा रहँदा श्रीमती अर्कैसँग लागेको शङ्का र सम्बन्धबिच्छेद माग्दा नमानेपछि हत्या’ भएको भन्नेमा पुग्यो ।

जसअनुसार प्रहरीले कोरियामा रहेका मृतकका श्रीमानसहितलाई झिकाएर अनुसन्धान सुरु गरिसकेको छ । जसअनुसार हत्याको संलग्नमा ६ जनालाई प्रहरीले गत बिहीबार नै सार्वजनिक गरेको छ ।

सार्वजनिक हुनेमा श्रीमान प्रेमबहादुर बुढाथोकी, मोरङ पथरी शनिश्चरे नगरपालिका ३ संगम चोक बस्ने वर्ष २९ को ढकेन्द्र बुढाथोकी, निजको श्रीमती वर्ष २५ की सृष्टि बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका ७ लुमाङदिङ घर भई मोरङ उर्लाबारी नगरपालिका ५ फागुटोल बस्ने वर्ष ३६ को योगेन्द्र गौतम, वर्ष २८ की डेनु गौतम, मोरङ पथरी शनिश्चरे नगरपालिका वडा न.३ बस्ने वर्ष ४० को केशवराज दाहाल रहेका छन् ।

घटनामा संलग्न रहेका भारतीय नागरिक आसाम खकन वस्ती बस्ने वर्ष ३५ को राजु थापा मगर भने फरार रहेको प्रहरीलेको भनाई रहेको छ ।

प्रहरीका अनुसार यस रहस्यमय घटनाको अनुसन्धान गर्नका लागि मुख्य भूमिकामा थिए इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक दिवस कुँवर । २०७१ सालबाट प्रहरी सेवामा छिरेका दिवस २०७७ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए ।

उनै कुँवरलाई यस रहस्यमय घटनाको अनुसन्धानमा मुख्य भूमिका खेलेको कुँवरलाई नै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले २०८१ चैत्र महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित समेत गरेको छ ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक कुँवरले चैत २५ गते सुनसरीको धरान–६ स्थित वनमा शंकास्पद मृत्यु भएकी धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ बर्षीया चुन कुमारी दाहाल बुढाथोकीको अनुसन्धानको क्रममा हत्यामा संलग्नलाई पक्राउ गरेका कुँवरलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दहालले जानकारी दिए ।

कोशी प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिना दुई उत्कृष्ट प्रहरी घोषित गर्दै आएको छ र प्रहरी कर्मचारीको मनोबल बृद्धि गर्नलाई बृद्धि बनाउनका लागि अर्का प्रहरी, प्रहरी चौकी अमाहीवरयातीमा कार्यरत प्रहरी सहायक निरीक्षक नवराज कार्की पनि कुँवरसंगै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

उनले पनि मोरङको जहदा गाउँपालिका ७ का २७ बर्षीय उमेश कामतको घरबाट १०८८ किलोग्राम गाँजा बरामद गरी निजलाई पक्राउ गरेको भन्दै चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको दाहालले जनाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया