News and Updates

सुर्खेत । लामो समयदेखि काम नभएर अलपत्र अवस्थामा रहेको कैलालीको चिसापानी–कुईने जोड्ने सडक अलपत्र निर्माणको काम सुरु भएको छ ।
सडक क्षेत्रमा पर्ने रुक कटानको आदेश नपाएको भन्दै बर्षौदेखि सडक निर्माण कार्य अलपत्र परेको थियो । वर्षौं पहिले ट्रयाक खोल्ने काम भए पनि अपेक्षाकृत प्रगती नभएपछि स्थानीयबासी आन्दोलित भएका थिए ।
पछिल्लो पटक आइतबार मात्र उक्त सडक निर्माणको मागसहित लम्की चुहा निबासी नेत्र भण्डारीले कर्णाली नदीस्थित चिसापानी पुलमा अनसन बसेर आन्दोलन थालेका थिए ।
भण्डारीले पुलमा अनसन बसेको केही दिनमा रुख कटानको सम्झौता गरिएको हो । यो सडकमा पर्ने ४७२ रुख तथा पोलहरु हटाउन वन तथा भू–संरक्षण विभाग र सडक विभागको भू–वातावरण तथा सामाजिक शाखासँग सम्झौता गरिएको छ ।
सम्झौतामा १६ किलोमिटर भित्रका रुख तथा पोल हटाउने उल्लेख छ । तर चिसापानी–कुइने सडकको लम्बाई १२ किलोमिटर हो । चिसापानी बजार क्षेत्रको दुई किलोमिटर सडक यसअघि नै कालोपत्रे गरिएको थियो ।
बाँकी सात किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले २०७९ सालमा ठेक्का लगाइसकेको हो । सडक किनारामा रुख परेकाले अपेक्षाकृत निर्माणको काम गर्न नसकेको सडक डिभिजन कञ्चनपुरका प्रमुख सिनियर डिभिजनल ईन्जिनियर राजेशकुमार यादव बताउँछन् ।
‘रुख कटानका लागि सम्झौता भएको छ, अब निर्माणमा कुनै विलम्ब हुँदैन् । निर्माण व्यवसायीलाई साइटमा परिचालन गरिसकेका छौं,’ यादवले भने, ‘असारसम्म निर्माणका लागि म्याद थप गरिएको छ । यो वर्षात् अगाडी सम्पन्न नभए माघसम्म काम सक्नेगरी हामी लागेका छौं ।’
कालोपत्रेका लागि १३ करोडको लागतमा दिव्य ज्योति शाही लम्कीले जिम्मा पाएको सडक हो । बैशाख महिनाभित्र रुख कटानको काम सकेर बाँकी रहेको काम तिव्र गतिमा अगाडी बढाउने तयारी गरिरहेको दिव्य ज्योति शाही लम्कीका सञ्चालक देवेन्द्र शाही बताउँछन् ।
‘रुखका कारण काम खासै गर्न सकेका थिएनौं,’ शाहीले भने, ‘अहिले रुख नभएको क्षेत्रमा नाली निर्माण र कटानको काम गरिरहेका छौं । वर्षात् अगाडी सकेसम्म कटिङको काम सक्ने तयारी छ ।’
सात किलोमिटर सडक ८ देखि १० किलोमिटर डवल कटिङ र पाँच मिटर कालोपत्रे गरिनेछ । कैलाली र सुर्खेत जोड्न कुईनस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल निर्माणपछि सञ्चालनमा आइसकेका छन् । कर्णाली सरकारले कुइने–गल्फा, गल्फा–बावियाचौर सडक कालोपत्रे गर्नेगरी ठेक्का व्यवस्थापन गरिसकेको छ ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेतले बावियाचौरदेखि कुईनेसम्म झण्डै १८ किलोमिटर सडक कालोपत्रेका लागि २०७८ मै अनक जयदेवी सनलाइट जेभी र जलजला जेभीसँग दुई प्याकेजमा निर्माण सम्झौता गरेको हो । यो सडकका लागि झण्डै २५ करोड बजेट विनियोजन गरेको छ ।
बावियाचौर–भक्तडी–जंगलाघाटसडक वर्षौं पहिले ट्र्याक खोलिएको हो । पञ्चपुरी नगरपालिकाले छाप्रेका नागरिकहरुलाई सहज आवजावतका लागि सडक अवरुद्ध भएको बेला खुलाएर सञ्चालनमा ल्याउने गरेको छ ।
सुदूरपश्चिम सरकारले कैलाली–सुर्खेत–अछामहुँदै बाजुराको बडिमालिका जोड्ने उदेश्यले अछाममा गौरवको आयोजनाको रुपमा काम गरिरहेको छ । सुदूरपश्चिम सरकारले अछाम खण्डको ५० किलोमिटर सडकलाई प्रदेश गौरवको आयोजनामा समावेश गरेको छ । अछामको गैरीटार–कमलजबार, तुर्माखाँद–जंगलाघाट सडक निर्माण भइरहेको छ ।
गैरीटारदेखि कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाको सिमाना बासकाँडासम्म सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७९÷०८० मै ठेक्का लगाएर हो ।
गैरीटार–बासकाँडासम्मको दुरी २३ किलोमिटर सडक ग्राभेल अन्तिम चरणमा छ । अछामकै बासकाँडा–तुर्माखाँद–जंगलाघाट २७ किलोमिटर सडक डवल कटिङ र ग्राभेल गर्ने भइरहेको छ ।
जंगलाघाटमा पक्की पुल निर्माणसँगै सुर्खेत खण्डमा छिटो काम हुने हो भने सिंगो अछामका नागरिक १२ घण्टा लगाएर धनगढी पुग्नुपर्ने अहिलेको बाध्यता अन्त्य हुनेछ ।
बावियाचौरबाट अछामका तुर्माखाँद, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका नागरिकहरु जोखिम मोलेर यात्रा गरिरहेका छन् ।
चिसापानी–कुइने बावियाचौर ३०, बावियाचौर–भक्तडी–जंगलाघाट १८, जंगलाघाट–तुर्माखाँद–कमलबजार–गैरीटार ५० र गैरीटार–मंगलसैन २१ किलोमिटर गरी चिसापानी–बावियाचौर–मंगलसैनसम्मको दुरी ११९ किलोमिटर छ ।
सडक निर्माणपछि कैलालीको अत्तरियाबाट डडेल्धुरा–डोटी–साफेबगर–मंगलसैन र अत्तरियार–कोहलपुर, सुर्खेत–दैलेख–मंगलसैन पुग्न झण्डै तीन सय किलोमिटर छोटो पर्छ ।
जंगलाघाटस्थित कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि पुल सेक्टर सुर्खेतले ठेक्का व्यवस्थापन गरेर काम जारी राखेको छ । १६ करोड ५८ लाख ६४ हजार लागत रहेको पुल निर्माणको जिम्मा लामा कन्ट्रक्शन प्रा.लि. काठमाडौंले जिम्मा लिएको छ । यो पुल २०८३ कार्तिकसम्ममा सक्ने लक्ष्य छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया