News and Updates

लोकतान्त्रिक आन्दोलनका लागि मधेशको भूमिका कस्तो छ ? कसरी विश्लेषण गर्नुहन्छ ?
लोकतान्त्रिक आन्दोलनमा नेपालको यो तराई–मधेसको भूमिका उल्लेख्य छ । ०७ सालको परिवर्तन होस या त्यसपछि अहिलेसम्म भएका विभिन्न राजनीतिक परिवर्तनहरुमा मधेश प्रदेश र तराइको भूमिका ऐतिहासिक योगदान छ । इतिहासको पाना पल्टाउने हो भने छिमेकी मुलुक भारतमा पनि लोकतान्त्रिक व्यवस्थाका निम्ति, अंग्रेजहरुलाई भारतबाट विस्थापित गर्नका निम्ति पनि तराइ–मधेशको ऐतिहासिक योगदान छ । त्यस्तै हरेक राजनीतिक परिवर्तनमा चाहे त्यो समावेशिताको आन्दोलन होस, समानताको आन्दोलन होस, राजतन्त्रलाई अन्त्य गर्ने आन्दोलन होस या गणतन्त्रको बिगुल फुक्ने आन्दोलन होस सबैमा हामीले अब्बल भूमिका निर्वाह गरेका छौं ।, राष्ट्रिय पञ्चायतको बेला राष्ट्रिय पञ्चायत भित्रमा पनि यदी गणतन्त्रको नारा कसैले लगाएको थियो भने त्यो तराई–मधेशकै भूमिको सपुतहरुले नारा लगाएको थियो । यस अर्थमा यो भूमिको ज्यादै ठूलो भूमिका छ ।
मधेशका जनताकै कारणले लोकतन्त्र आएको हो ?
म त्यसो भन्दिन । नेपालमा हरेक जिल्ला, हरेक जाति, समुदाय, हरेक वर्ग क्षेत्रको भूमिका छ । तर यो भूमिका अलिकति फरक छ । सुगमताको हिसाबले पनि या भारतसँग सीमा जोडिएको हिसाबले पनि साथै विविधताका कारणले हरेक नागरिकको उत्तिकै भूमिका छ ।
मधेशका जनताले लोकतन्त्रको अनुभूति गरिरहेका छन् त ?
आज भन्दा ३० वर्ष अगाडि तपाई कल्पना गर्नुहोस या आज भन्दा २५ वर्ष अगाडिको समिक्षा गरौं के हरेक वडामा दलित, मुस्लिम, मधेशी, जनजाति, महिला, खस आर्यको उपस्थिति देखेका थियौं ? देखेका थिएनौं नि । अहिले हरेक वडा वडामा निर्वाचित जनप्रतिनिधिहरु सबै जाति समूदायको कलस्टरको उपस्थिति छ । त्यसकारण लोकतन्त्रको अनुभूति भएको छ कि छैन भन्ने कुरा यसले प्रष्ट गर्दछ । त्यसरी नै आज राज्यका हरेक अंङमा हामी समावेशी उपस्थिति देख्दैछौं । सबैलाई अवसर प्रदान गर्ने एउटा प्रणालीको विकास गरेका छौं । त्यसकारण यो पनि उपलब्धि हो । त्यसैले लोकतन्त्रको अनुभूति नेपाली जनताले सबैले गरिरहेका छन् ।
जनआन्दोलनमा सहिद र घाइते भएकाहरुले सरकारबाट कुनै साथ र सहयोग भएन भन्ने गुनासो गरिरहेका छन् ।
मधेश सरकारले यसमा के गरिरहेको छ ?
प्रदेश सरकारको तर्फबाट प्रत्येक वर्ष बलिदानी दिवस आयोजना गर्ने गरेका छौं । बलिदानी दिवस संगसंगै सहादत सहिद परिवारहरुका निम्ति केही न केही सहयोग गरिरहेका छौं । भर्खरै हामीले यो कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छौं । अन्तरक्रियाहरु गरेका छौं । दीप प्रज्जवलन गरेका छौं । र ती सबै सहिदहरुप्रति हामीले सम्मान व्यक्त गर्न केही न केही आर्थिक सहयोगको पनि व्यवस्था गरेका छौं ।
कति ठाउँमा सहिद परिवारका सदस्यहरुले रोजगारी पनि पाउनु भएका छन् तर करारमै छन् कती हटाइएको अवस्था पनि छ । प्रदेश सरकारको गेट अगाडि नै केही दिन पहिला नाराबाजी समेत गरेका थिए । वहाँहरुलाई
स्थापित गर्न के कस्तो पहलहरु भइरहेको छ ?
यो एउटा प्राबिधिक विषय पनि हो । स्वभाविक रुपमा हामीले के बुझ्नुपर्छ भने सरकारले दिने कुनै पनि कर्मचारीको स्तरबाट केही विधिहरुको पालना गर्नुपर्ने हुन्छ । जुन प्राविधिक विषय पनि हो । केही विधीहरु बनाउनु पर्ने हुन्छ । यद्यपी, हाम्रो सरकारले विगतका वर्षदेखि नै पढेलेखेका र पढ्नलेख्न नपाएका दुई थरीकै सहिद परिवारलाई जिम्मेवारी आवश्यकता अनुसार गरिरहेका छौं । र प्रदेश सरकार मातहत रहेका केही निकायहरुमा उचित व्यवस्थापन गर्ने प्रयास विगत देखि नै गरिएको छ । अहिले पनि विश्वास दिलाउन चाहन्छौं कि प्रदेश सरकार यस विषयमा गम्भिरतापूर्व एउटा कार्यक्रम नै गरेर यसलाई व्यवस्थापन गर्नका निम्ति अगाडि बढाउने प्रयास गरिरहेको छ ।
मधेशकै कारण मुलुकमा लोकतान्त्रिक संघीयता स्थापना भयो । तर मधेशमा संघीयताप्रति बढी असन्तुष्टि किन ?
त्यो स्वभाविक छ । जहाँ बढी सहजता हुन्छ, जहाँ बढी विकटता हुन्छ, जहाँ बढी प्रश्न तेर्सिन्छ । हामीले बुझ्नु पर्छ कि प्रतिफलको आश पनि नागरिकले त्यहीँबाट गर्छ । त्यसकारण यो समावेशिताको आन्दोलन, संघीयताको आन्दोलन, राज्य पुनर्संरचनाको आन्दोलन, समानताको आन्दोलन यो भूमिबाट भएकै कारण सम्पूर्ण नेपाली नागरिकले यो भूमिबाट बढी अपेक्षा गर्नु स्वभाविक हो । त्यसैगरि अभ्यासहरुको कुरा गर्ने हो भने यही भूमिबाट विभिन्न अभ्यासहरुको सुरुवात भएको छ । त्यसकारण अपेक्षा गर्नु स्वभाविक छ । सबैको अपेक्षा अनुसार काम गर्न नसकेका हौंला तर खबरदारी सबैले गरिराख्नुपर्छ । सञ्चारमाध्यम, नागरिक समाज, राजनीतिक दल सबैले खबरदारी गरिनुपर्छ । सबैले आफ्नो सरकारसंग, राज्यका हरेक अंगसंग चाहे बमोजिम अपेक्षा पूरा भइरहेको छैन् । हरेक ठाउँबाट त्यस्ता आवाजहरु उठ्नु आवश्यक छ । त्यसलाई हामीले स्वागत गर्नु पर्दछ ।
लोकतन्त्र ल्याउन संघर्ष गरेका दलहरु सत्तामुखी र भागवण्डामा केन्द्रि भएका हुन ?
होईन, सरकारमा जाने कुरा लोकतान्त्रिक व्यवस्थामा पर्छ । राजनीतिक दलकै माध्यमबाट हुन्छ । हामी निर्दलीय व्यवस्थामा छैनौं । हामी एकदलीय व्यवस्थामा छैनौं । विगतको जस्तो निरंकुश व्यवस्थामा अहिले छैनौं । लोकतान्त्रिक व्यवस्थामा, बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा, संघात्मक व्यवस्थामा भएका कारण त्यो स्वभाविक छ ।
दलहरु सत्तामै केन्द्रित भएको र विकासका कार्यहरुबाट पन्छिएको जस्तो अनुभूती हुँदैछ जस्तो लाग्दैन ?
यो समिक्षाको विषय बन्नु पर्दछ । यदि कुनैपनि राजनीतिक दलका प्रतिनिधि सरकारमा गएर राम्रो काम गरिरहेका छैन भने त्यस्ता प्रतिनिधिहरुलाई राजनीतिक दलहरुले फिर्ता बोलाउनुपर्दछ । यदि कुनैपनि राज्य संरचनामा राजनीतिक दलका प्रतिनिधिहरु पारदर्शी ढंगले जनतालाई सहजताका साथ यदि काम गरिरहेको छैन भने, संविधान बमोजिम दिएको अधिकारलाई कुण्ठित गरिरहेको छ भने, समानताको ठाउँमा विभेद भइरहेको छ भने, समानताको ठाउँमा जनप्रतिनिधिले नै भेद्भाव गरिरहेका छन् भने यस्ता विषय समिक्षाको विषय बन्नु पर्दछ । र राजनीतिक दलहरु पनि यस्ता विषयमा सचेत रह्नु पर्दछ । नागरिकको सेवालाई प्राथमिकतामा राखेर कुनै १० जना २० जनालाई मात्रै सुविधा हुने खालको परिपाटी हामीले बसाल्नु हुन्न । दलहरु एकदम सचेत रह्नु पर्दछ । हामी नीतिगत रुपमै सबैका निम्ति, लाखौं जनताका निम्ति, लाखौं नागरिकका निम्ति हामी कसरी सहजता प्रदान गर्न सक्छौं यो तीन तहकै संरचनाबाट राजनीतिक दलहरु जिम्मेवार बन्नु पर्दछ ।
लोकतन्त्रको संस्थागत विकासमा मधेश सरकारले के गरिरहेको छ ?
लोकतन्त्रको संस्थागत विकास भन्ने वित्तिकै लोकतन्त्रसंग जोडिएको सरकारको विषय मात्रै हो भन्ने कुरा हामीले बुझ्नु हुँदैन । लोकतन्त्र सबैका निम्ति हो । लोकतन्त्र स्थापनाका निम्ति दलको जति योगदान छ, त्यतिनै योगदान सञ्चारमाध्यमको छ, सञ्चारकर्मीको छ, नागरिक समाजको छ । त्यसकारण यो विषयमा राजनीतिक दलसंगसंगै हामी सबै जिम्मेवार बन्नु पर्दछ । लोकतन्त्रको संस्थागत विकासका निम्ति, लोकतन्त्र जनताका निम्ति हो, लोकतन्त्र सहजताका निम्ति हो, लोकतन्त्र विकास निर्माणका निम्ति हो र लोकतन्त्र प्रत्येक नागरिकलााई अधिकार सम्पन्न बनाउनका निम्ति हो । लोकतन्त्र कुनै व्यक्तिलाई राजा बनाउने महाराजा बनाउने र कुनै व्यक्तिलाई रैति प्रजा बनाउने व्यवस्था होइन हामी सबैले बुझाउन सक्नु पर्दछ ।
लोकतन्त्र दिवसमा प्रदेश सरकारले कसरी मनाउँदैछ ?
लोकतन्त्र दिवसका अवसरमा हामी केवल औपचारिकतामा सिमित हुनु हुँदैन । कुनै पनि दिवस कुनैपनि समारोह अहिले औपचारिकतातर्फ मात्र गइरहेको छ भने हामी सचेत हुनुपर्दछ । त्यसकारण म लोकतन्त्र दिवसको अवसरमा प्रत्येक प्रदेशवासी प्रत्येक नेपाली नागरिकलाई, लोकतन्त्रबाट प्राप्त उपलब्धिहरु के के हुन, यी यस्ता विषयमा हामी जनस्तरमा, गाउँमा, टोलमा बुझाउन सक्यौं कि सकेनौं ? यदि बुझाउन सकेका छैनौं भने, अभ्यास, प्रयास त्यतातिर केन्द्रित हुनुपर्दछ । अहिले सडकमा देखिएका केही असन्तुष्टिहरु, यसको कारण के हो ? यसको समिक्षा हुनुपर्दछ । यस अवसरमा म तमाम प्रदेशवासी देशवासी, नेपालका सम्पूर्ण नागरिकलाई म आह्वान गर्न चाहन्छु कि अहिले हामी स्वतन्त्रापूर्वक जुन पेसा, व्यवसायी, राजनीति हरेक क्षेत्रमा सबैले समान अधिकार जुन प्राप्त गरेका छौं यो लोकतन्त्रकै देन हो । त्यसकारण लोकतन्त्रका विषयमा केवल शहरम केवल विश्वविद्यालयमा वा केवल दलहरुका बीचमा मात्रै चर्चा गरिनुहुन्न । यो जनस्तरमा हरेक ठाउँमा लोकतन्त्रका उपलब्धिका बारेमा अहिले चर्चा गर्नु आवश्यक छ भन्ने यो सन्देश जान जरुरी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया