Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट

News and Updates
11 घण्टा अघि

मध्यविन्दु नवलपरासी, १६ वैशाख । यहाँको हुप्सेकोट गाउँपालिकामा ४० उत्कृष्ट उद्यमी छनोट गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र ‘दायित्व’ नामक एक संस्थाको सहकार्यमा सञ्चालित ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यहाँका ४० जना उत्कृष्ट उद्यमी छनोट गरिएको हो ।

 

 

 

गाउँपालिकाभित्र रोजगारी र उद्यम प्रवर्द्धनका लागि गरिएका अध्ययन तथा सम्भाव्यता विश्लेषणपछि खुला आवेदन आह्वान गरिएको थियो । प्राप्त ९८ आवेदनमध्ये सोच र सीप, विद्यमान अवस्था, नवप्रवर्तन क्षमता, व्यावसायिक योजना, बजार सम्भावना, नेतृत्व क्षमता र सामाजिक प्रभावजस्ता मापदण्डका आधारमा उद्यमी छनोट गरिएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिए ।

 

 

 

“छनोट भएका ४० उद्यमीमध्ये आगामी चरणमा उत्कृष्ट २० लाई सुदृढीकरण तालिम दिइनेछ । त्यसपछि उनीहरूलाई व्यावसायिक योजना सुधार, बजार विस्तार र उद्यम विकास साझेदारीका माध्यमबाट थप सहयोग गरिनेछ”, उनले भने, “अन्तिम चरणमा मूल्याङ्कन गरी १० उत्कृष्ट उद्यमीलाई विशेष नेतृत्व विकास, लगानी परिचालन तथा राष्ट्रिय र अन्तरराष्ट्रिय बजारसँग जोड्न सहयोग गरिनेछ ।”

 

 

 

कार्यक्रमको मूल उद्देश्य गाउँपालिका क्षेत्रमा साना तथा लघु उद्यमहरूलाई मजबुत बनाउँदै दिगो रोजगारी र आय वृद्धिमा योगदान गर्नु रहेको कार्यक्रम प्रबन्धक सञ्जय पोख्रेलले बताए । “यस कार्यक्रमअन्तर्गत शासकीय क्षमता सुदृढीकरण र बहुपक्षीय सरोकारवालाबीच ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्ने लक्ष्य छ”, प्रबन्धक पोख्रेलले भने ।

 

 

समृद्ध नेपालको साझा परिकल्पनालाई साकार पार्न र ग्रामीण क्षेत्रमा रोजगारी तथा आय वृद्धिमा योगदान पु¥याउन ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम’ त्रिपक्षीय साझेदारीमा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताए ।

 

 

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र दायित्व संस्थाको लागत साझेदारीमा गण्डकी प्रदेशका पाँचवटा गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया