News and Updates

सुर्खेत । जंगलमा फिरेन्ते जीवन विताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ ।
४९ वर्षीय शाहीको गएराती बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
‘नयाँ वर्षमा यो समुदायमा ठूलो चाड मनाउने प्रचलन हुन्छ । त्यहीँ बेलादेखि उहाँ विरामी हुनुहुन्थ्यो,’ खत्रीले भने, ‘पछिल्लो पाँच दिनयता विरामीले च्यापेपछि सुतिरहने तर नउठ्ने गरेपछि अस्पताल लैजान सम्झाउने गरेका थियौं । तर उहाँको गएराती नै मृत्यु भयो ।’
राउटे समुदाय विरामी भएपछि उपचारका लागि अस्पताल जान मान्दैनन् । ‘मुखियाले अस्पताल गएका सबैको मृत्यु भएको छ म पनि जाँदैन भन्नुहुन्थ्यो,’ खत्री भन्छन्, ‘सोमबारसम्म अवस्था हेरौं नभएर मंगलबार उपचारका लागि वीरेन्द्रनगर जाउला भन्नुभएको थियो । गएराती ९ बजेतिर उहाँको मृत्यु भइसक्यो ।’
तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण हुन् । २०७२ जेठमा मुखिया चुनिएका उनी रास्कोटी गोत्रका हुन् । एक महिनाअघि मात्रै उनीहरु वीरेन्द्रनगर–१४ छेडामा भेट्नेगरी गिरीघाटबाट छुट्टिएको थिए ।
२१ घरधुरी वीरेन्द्रनगर–१३ करेखोला किनारामा बसिरहेका छन् । मुखिया शाहीको नेतृत्वमा बाँकी २१ घरधुरी बराहतालको सोतकोला किनाराहुँदै श्रीचौर नजिकै पुगेको हो ।
राउटे समुदायको चलनअनुसार तीन वर्षको फरकमा छुट्टाछुट्टै बाँडिने गरेका छन् । राउटे समुदाय दुई राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याय गरी तीन गोत्र छन् । मुखियाको मृत्यु भएपछि यो समुदायको संख्या घटेर १३५ मा झरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया