६ माघ २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

यो संसदभन्दा म टेलिभिजन सञ्चारकर्मी हुँदा बढी प्रभावकारी थिएँ : रवि लामिछाने

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भएको बताएका छन् ।

गत वैशाख २४ गते सुरु संसदको बजेट अधिवेशन सुरु भएयताको ६ महिनामा बजेट पारित गर्नेबाहेक जम्मा एउटा मात्र कानुन पास गरेको भन्दै उनले संसदको काम भन्दा आफू सञ्चारकर्मी हुँदा नै बढी काम गरेको दाबी गरे ।

‘६ महिनाको समय र करिब ६ करोड खर्चिएर यो सदनले मात्र एउटा कानुन पास गर्‍यो, यो भन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथेँ । नागरिकको समस्या सुल्झाउने काममा यो भन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ’, उनले भने ।

संसदमा जनप्रतिनिधिले उठाएको आवाज समेत सरकारले नसुनेको र मन्त्रीहरुलाई सोधेको प्रश्नको जवाफ नपाएको लामिछानेले बताए । ‘ध्यानाकर्षणका लागि हामीले उठाएको विषय मन्त्रीले टिप्छन् कि टिप्दैनन् तर जवाफ दिएका छैनन्’, उनले भने ।

बरु सदनमा आरोप प्रत्यारोप, छेडखानी चल्ने गरेको भन्दै सांसद लामिछानेले भने, ‘शीर्ष भनिएका नेताको भाषणमा कुण्ठा चल्छ, मिथ्यांकको विवरण खुल्छ, आत्मप्रशंसा र विपक्षीको निन्दाको लम्बेतान सिलसिला मात्र चल्दैन शीर्ष भनिने, ठानिने नेताको लहडमा संसद बन्धक हुन्छ ।’

उनले संसद नागरिकको आवाज मुखरित गर्ने थलो बन्न नसकेको पनि बताए ।

नेताहरुले देशको, संविधानको र व्यवस्थाको धेरै चिन्ता गरेको भन्दै लामिछानेले उनीहरुकै कारण व्यवस्था खतरामा परेको आरोप लगाए ।

‘यो व्यवस्था, यो संविधान अरु कसैको कारण खतरामा छ कि तपाईं हाम्रै चरित्र र व्यवहारका कारण खतरामा छ ?’ उनले प्रश्न गरे, ‘हामीले व्यवस्था जोगाउन प्राथगमिकता दिएको भए यो चिन्ता गर्नुपर्ने थिएन । हामी यो व्यवस्था, प्रणाली जोगाइरहेका छौं कि आफ्ना मान्छे जोगाइरहेका छौं ?’

रास्वपा सभापति लामिछानेले सत्ता स्वार्थका लागि मिल्न सक्ने दलहरु शान्ति प्रक्रिया टुंग्याउने र पीडितलाई न्याय दिने विषयमा मिल्न नसकेको आरोप लगाए ।

‘आफ्नो सत्ता स्वार्थका लागि मिल्न सक्ने, पीडितलाई न्याय दिने शान्ति प्रक्रियामा कसले रोक्यो हामी नयाँ दलले ?’ उनले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय मानव अधिकारका सिद्धान्त अनुसार यसलाई टुंग्याउन कसले रोकेको छ ? रोकेको छ त यहाँहरुकै नियतले ।’

प्रतिक्रिया दिनुहोस्